हामीले गुमाउँदै गएको आकाशको नीलोपन र वर्षाले मात्रै सफा हुने हाम्रो सहर
नेपालमा, विशेषगरी काठमाडौं उपत्यकामा, हामीले एउटा खतरनाक बानीको विकास गरेका छौँ । हामी हावा सफा हुनका लागि आकाशतिर हेर्छौँ र वर्षाको प्रतीक्षा गर्छौँ । जब सहर धुवाँले ढाकिन्छ, जब सास फेर्न गाह्रो हुन्छ, जब हिमालहरू आँखा अगाडिबाट हराउँदै जान्छन्, हाम्रो पहिलो प्रतिक्रिया कुनै नीति, कुनै समाधान, कुनै जिम्मेवारी होइन, हाम्रो पहिलो प्रतिक्रिया हुन्छ, “कहिले पानी पर्ला ?” यो सोच आफैमा समस्या हो। वर्षाले हावालाई सफा गर्छ भन्ने कुरा सही भए पनि, त्यसमा निर्भर हुनु भनेको आफ्नो असफलता स्वीकार गर्नु हो। हामीले वातावरणीय व्यवस्थापनलाई विज्ञान, नीति र कार्यबाट होइन, संयोग र मौसमबाट चलाउन खोजिरहेका छौँ ।
मार्च २०२६ मा परेको एक दिनको वर्षाले काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) १७८ बाट घटेर १४९ मा झारेको थियो । यस्तो उदाहरणलाई हामीले राहतको रूपमा मात्र होइन, एउटा चेतावनीको रूपमा बुझ्नुपर्छ । किनभने यो सुधार स्थायी होइन, यो केवल केही घण्टाको सफाइ हो, जस्तै धुलो लागेको कोठामा झ्याल खोल्दा आउने हावाको झोंका। वर्षा रोकिनासाथ, घाम लाग्ने बित्तिकै, सडक सुक्ने साथ, उही धुवाँ, उही धुलो, उही लापरवाही फेरि फर्किन्छ । तर हामीले यसलाई समस्या होइन, समाधानका रुपमा लिन थालेका छौँ । यहीँबाट हाम्रो निर्भरता सुरु हुन्छ, हामी वर्षालाई उपाय होइन, उद्धार कर्ताजस्तो मान्न थाल्छौँ ।
यो निर्भरता केवल व्यवहारमा होइन, मानसिकतामा बसिसकेको छ। हामी प्रदूषण बढ्दा आक्रोशित हुँदैनौँ, हामी सक्रिय हुँदैनौँ, हामी केवल पर्खन्छौँ । “अब पानी पर्छ होला”, “एकचोटि पानी परेपछि ठीक हुन्छ” । यस्ता वाक्यहरू सामान्य कुराकानीको हिस्सा बनिसकेका छन् । यसले देखाउँछ कि हामी समस्या समाधान गर्न होइन, समस्या सहन अभ्यस्त भइसकेका छौँ । अझ खतरनाक कुरा के हो भने, यो सोचले सरकारलाई पनि सजिलो बनाइदिएको छ । जब नागरिकहरू आफैं वर्षाको भरमा बस्छन्, तब नीतिगत असफलता पनि सजिलै ढाकिन्छ । वर्षा आउँछ, केही दिनका लागि आकाश नीलो हुन्छ, र हामी फेरि चुप लाग्छौँ । यो चक्र निरन्तर दोहोरिरहेको छ ।
हामीले प्रकृतिले कहिलेकाहीँ दिने राहतलाई स्थायी समाधानको रूपमा लिन थालेका छौँ। हामीले आफ्नो शहर, आफ्नो स्वास्थ्य, आफ्नो भविष्यलाई मौसमको भरमा छोडिरहेका छौँ । हामी आफैंले दैनिक रूपमा प्रदूषण सिर्जना गर्छौँ, सवारी चलाउँछौँ, फोहोर जलाउँछौँ, नियम उल्लंघन गर्छौँ, तर समाधानका लागि हामी आकाशतिर हेर्छौँ । यो विरोधाभास नै हाम्रो सबैभन्दा ठूलो कमजोरी हो ।
तर परिवर्तन सम्भव छ, यदि हामीले यो निर्भरता तोड्न सक्यौँ भने । समाधान टाढा छैन, तर सुरु हामीबाटै हुनुपर्छ । हामीले आफ्नो दैनिकीमा साना तर प्रभावकारी परिवर्तन गर्नुपर्छ, अनावश्यक रूपमा सवारी प्रयोग नगर्ने, सम्भव भएसम्म सार्वजनिक यातायात, साइकल वा पैदल यात्रा रोज्ने । आफ्ना सवारी साधनहरूलाई नियमित मर्मत गरेर कम धुवाँ निकाल्ने बनाउनुपर्छ । फोहोर जलाउने बानीलाई पूर्ण रूपमा त्याग्नुपर्छ, किनकि यसले हाम्रो वरपरको हावालाई अझ विषाक्त बनाउँछ । घर वरपर हरियाली बढाउने, रूख रोप्ने, र वातावरणप्रति सचेत व्यवहार गर्ने जस्ता कामहरू साना देखिए पनि दीर्घकालीन रूपमा अत्यन्त प्रभावकारी हुन्छन् । साथै, प्रदूषण उच्च भएको बेला आफ्नो स्वास्थ्य जोगाउन मास्क प्रयोग गर्ने र अरूलाई पनि सचेत गराउने जिम्मेवारी हामी सबैको हो ।
अन्ततः, नेपालले अब वर्षामाथिको यो मानसिक र व्यवहारिक निर्भरता तोड्नैपर्छ । हामीले बुझ्नुपर्छ कि वर्षा समाधान होइन, यो केवल अस्थायी राहत हो । हामीले वर्षातको प्रतीक्षामा बिताउने प्रत्येक दिन हाम्रो स्वास्थ्यमाथि आक्रमण हो, हाम्रो भविष्य प्रतिको बेवास्ता हो । अब समय आएको छ, पर्खिने होइन, काम गर्ने । दोष दिने होइन, जिम्मेवारी लिने । जब हामी आकाशतिर हेर्न छोडेर आफ्नै व्यवहारतिर हेर्न थाल्छौँ, तब मात्र वास्तविक परिवर्तन सुरु हुन्छ । हामीलाई बचाउने वर्षा होइन, हामी आफैं हौँ ।
(लेखक न्यौपाने क्लिन अप नेपालमा सञ्चार सहायकको रुपमा कार्यरत हुनुहुन्छ ।)
१६ बैशाख २०८३, बुधबार प्रकाशित
